किरातको संक्षिप्त परिचयः

Please go to new and updated website click here  >>>>www.kirat.org.np 

किरातः कैलाश पर्वत र त्यसका वरिपरि आदिम कालदेखि बसोबास गर्दै आएका समुदाय हुन । लिम्बु, राई, याख्खा, सुनुवार, धिमाल, जिरेल, सुरेल, थामी र हायु लगायत जातिहरु किरात भएकोमा गर्व गर्ने गर्दछन् । पुरानो इतिहास मध्ये एक किरातकालिन विजयपुरको ईतिहास (चेम्जोङ, २००७) अनुसार मगर र गुरुङलाई समेत किरात भनी समेटेका छन् । किरात शब्द कैलाश शब्द अप्रभ्रङ्स हुदै किरात भएको एकथरी मान्यता राख्दछन भने खम्बु मुन्दुम अनुसार किरावाचिबाट किराँती, किरात भएको हो (पुमा, हेन्खामा (निनाम्माः पृ. १२ (१३,२०११) र किरात शब्द वेद र पुराना ग्रन्थहरुमा प्रसस्त उल्लेख भएको पाइन्छ ।

नेपालको प्राप्त इतिहासमा गोपालवंशी, महिषपालवंशी पछि किरात काल (शासन) रहेको र त्यसपछि लिच्छिवीवंशी, मल्लवंशी र शाहवंशी युग हुदै अहिलेको युगमा आईपुगेको हो । नेपालमा शासन गर्ने चौथो पुरानो जाति किरात भन्ने देखिन्छ । नेपालमा भेटिएको सबैभन्दा पुरानो ईतिहास गोपालराजवंशावली अनुसार ३२ पुस्ता किरातहरुले नेपालमा शासन गरेका थिए । किरातहरुको पहिलो राजा यलम्बरले ३७९६ (सन् २०१७) अघि शासन शुरु गरेका थिए । किरातहरु नेपालको पूर्वी भाग हुदै भारतको उत्तरपूर्वी ईलाकामा बसोवास गर्ने गर्दछन् । किरात भित्र झण्डै एक दर्जन जाति र झण्डै ३६ भाषाहरु बोल्ने गरेको पाइन्छ । स्मरण रहोस राई जाति भित्रकाले मात्र २८ भन्दा बढि भाषा बोल्ने गर्दछन् ।

किरातहरु प्रकृतिपूजक हुन । आफ्नो धर्ममा किरात लेख्ने गर्दछन् । र, किरात धर्मालम्बिहरु मुख्यतया २ प्रकारले पुजाआज गर्नेगर्दछन् । एकथरी लिखित मुन्धुम फलाग्ने, पढने गर्दछन उनीहरुलाई सत्यहाँङ भनिन्छ भने अर्काथरी बलि चढाई वा नचढाई अलिखित मुन्धुम (मुन्दुम) फलाक्ने गर्दछन् । केही किरातहरु बुद्ध, क्रिश्चियन र अन्य धर्म मान्नेहरु पनि छन् ।

ईतिहासमा सबैभन्दा समृद्ध शासन किरात काल भएको कुरा ईतिहासमा उल्लेख भएकोले किरातहरु आफ्नो इतिहासको विरासतमा गर्व गर्ने गर्दछन् । नेपालको सिमाभित्र लगभग १२ लाख किरातहरु बसोवास गर्ने गर्दछन् । त्यसमध्ये सबैभन्दा धेरै जनसंख्या राई जातिको रहेको छ भने त्यसपछि लिम्बु, सुनुवार याख्खा जाति लगायतको रहेका छन् । किरातहरु जेठा (पुराना) शासक हुन भने कान्छा (हालका) शासकहरुबाट धेरै शोषित र दमित छन् । राज्यको नीतिअनुसार प्रत्येक दिन अतिक्रमणमा परि रहेका छन् । कान्छा शासकहरु प्रतिदिन विस्तार र समृद्धिमा लम्किरहेका छन् भने संमग्र किरातहरु रक्षात्मक अवस्थामा पुगेका छन् । इतिहासको विशाल विरासत बोकेका किरातहरु पूनर्जागरण प्रकृयामा छन् ।

किरातः लिम्बु, राई, याख्खा, सुनुवार, धिमाल, जिरेल, सुरेल, थामी र हायु लगायत
धर्मः किरात (सत्यहाँङहरुले धर्मगुरु आत्मानन्दलाई मान्दछन भने अन्यले परम्परागत नाक्छोङ, नोक्छो, धेवा, फेदाङमाबाट पुजा गर्ने गर्दछन) ।

किरात धर्मालम्बिहरुको संख्याः ३ प्रतिशत (जनगणना सन् २०११)

धर्मग्रन्थः  मुन्धुम, ड्यूम्ल्वा ¥यूम्द्यम (थुलुङ)

मुख्य चाडः (नेपाल सरकारबाट २६ चैत्र २०५८ देखि किरात कर्मचारीहरुलाई छुट्टि प्रदान र १८ फागुन २०६४ देखि किरात राष्ट्रिय पर्वको रुपमा मान्यता प्रदान)

१. उभौली (बालि लगाउनु अघि, बैशाख पूर्णिमा), खोला नदिमा पानी बढदै जादा माछा उभो (उकालो) चढ्ने समय उभौली ।
२. उधौली (बालि भित्र्याउने बेलामा), मंसिर पूर्णिमा, न्वागी पुजा, लिम्बुले चासोक तङनाम, याख्खाले चोसोवा, सुनुवारले फोलशाँदर, चाम्लिङले साकेला, वान्तावाले सेमुना सान्केवा, थुलुङले बुङतोषी, हायुले कागुनी न्वागी, जिरेलले न्वागी चास्या भन्ने गर्दछन् । हिउदको वेलामा नदि, खोलाको पानी घटदै जादा माछा लगायत उधो (ओह्रालो) झर्ने भएकोले उधौली) ।
३. बलिहाँङ तङनामः तिहारमा द्यौसी (मुन्धुम अनुसार चेली माइतीले फूल साटासाट हुनुहुदैन) ।
४. साउने सक्रान्तिः सिसेक्पा तङनाम (अनिकाल धपाउने) चाड
५. माघे सक्रान्तिः कक्फेक्वा तङनाम र किरात नयाँ बर्षको पहिलो दिन

भाषाः ३६ भन्दा बढि

लिपीः किरात लिपी

पुजास्थलः माङ्हिम, माङखिम, मार्सखोम (थुलुङ),

जनसंख्याः अनुमानित १२ लाख

किरातकालः शाह, मल्ल, लिच्छवी र किरात काल (४ वंश अगाडि)

सवत्ः किरात यलम्बर सवत् ३७९६ (सन् २०१७) केही समय अघि सम्म ५०७७ लाई शुरुवात गरिएको थियो र त्यहि ५०७७ कै गणनाको आधार खोज्दै जाँदा अन्ततः ३७९६ सबैभन्दा विश्वासयोग्य र बैज्ञानिक पत्ता लागेको हो ।
(संवतलाई लिम्बुले येले तङ्बे, राई वान्तावाले येले दोङ, थुलुङले येले थ र सुनुवारले येले थोचे आदि भन्ने गरेका थिएभने अहिले किरात यलम्बर संवत भन्ने गरिन्छ ।)

लिपीको सम्बन्धमा स्पष्टीकरणः भारतको २७ औं राज्य सिक्किममा पनि किरातहरुको ठूलो बसोबास रहेको छ । सिक्किम सरकारले आफ्नै भाषा, लिपी र संस्कृति भएका जातिलाई विशेष सुविधा प्रदान गर्ने ब्यवस्था गरे संगै प्राचीन किरात लिपीलाई कुनै एक किरात जातिले आफ्नो भनी दाबी देखाएर सुविधा लिएको कारण केही दुविधा देखिए । केही किरात जातिले नयाँ लिपी तयार गरे र सुविधा लिईरहेका छन् तर समग्रमा प्राचीन किरात लिपी सम्पूर्ण किरातहरुको साझा लिपी हो । कुनै एक जातिले बेग्लै नामाकरण पनि गरे तर सबैले बुझने किरात लिपी नै हो ।